आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस।
मंसिर २४
आज डिसेम्बर १० अन्तर्राष्ट्रिय मानव अधिकार दिवस। मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ लागु भएको ७५औँ वर्ष पुगेको दिन।
घोषणापत्रको ‘हिरक जयन्ती’ पनि हो यो वर्ष। यसको अन्तर्राष्ट्रिय प्रकरण– ‘भविष्यमा मानव अधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँ’ रहेको छ। मानव अधिकार राष्ट्रिय महाभेलाको नारा भने ‘प्राकृतिक प्रकोप तथा विपद्बाट प्रभावितका मानव अधिकार सुनिश्चिततास्आजको आवश्यकता’ राखिएको छ।
दोस्रो विश्व युद्धपछि विश्व शान्ति र सुरक्षाका लागि सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसंघ स्थापना भयो। यसपछि मानिसका आधारभूत स्वतन्त्रता, न्यायिक अधिकार एवं सामाजिक न्यायलाई सर्वव्यापी बनाउन सन् १९४८ डिसेम्बर १० मा यो दस्ताबेज पारित भयो। नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित ३० धारा यसमा समाहित भए।
यस घोषणापत्रका जगमा रोम विधानलगायत कानुनी हैसियतका नौ प्रमुख महासन्धि जारी भए। जेनेभा सन्धिबाट चिनिने अन्तर्राष्ट्रिय मानवीय कानुन बन्यो। स्थायी अन्तर्राष्ट्रिय फौजदारी अदालत गठन भयो। तर दण्डहीनता मौलाएको छ। बहानाबाजीमा लोकतान्त्रिक मुलुकमा पनि दमन तथा अत्याचार जारी छ। हिंसाले प्रश्रय पाएको छ।
नेपालले राष्ट्रसंघको सदस्यता सन् १९५५ डिसेम्बर १४ मा पायो। तर यसको तत्वावधानमा घोषित ‘विश्व मानव अधिकार दिवस’ मनाउने छूट पञ्चायतकालमा थिएन। यो निषेधित थियो किनभने यसबाट निरंकुश पञ्चायती व्यवस्था हल्लने शासकले देखे विचार तथा अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक अधिकारको चेतना जनस्तरमा फैलने भय बोके। यस प्रतिबन्धलाई तोड्दा अधिकारवादी आनन्दप्रसाद आचार्य गिरफ्तारीमा परेका थिए। २०४६ सालपछि मात्र खुलारूपमा यो ‘दिवस’ मनाउन पाइएको हो।