वैशाख ३०
आज दोस्रो स्थानिय तह निर्वाचनको दुई वर्ष पूरा भएको छ । २०७९ साल वैशाख ३० गते देशभर एकैसाथ सात सय ५३ वटै पालिकामा चुनाव भएको थियो ।
सङ्घीय व्यवस्था कार्यान्वयन भएपछि पालिकामा पहिलो पटक २०७४ सालमा जनप्रतिनिधि चुनिएका थिए ।
२०७२ असोज ३ गते नेपालको संविधान जारी भएपछि २०७४ वैशाख ३१ गते पहिलो पटक पालिकामा जन प्रतिनिधि छान्न चुनाव भएको थियो ।
पहिलो पाँच वर्ष र दोस्रो कार्यकालको दुई वर्ष गरी बितेका सात वर्षमा पालिकामा सेवा प्रवाह र भौतिक विकास निर्माणको काममा वृद्धि भएको छ । पालिकामा संस्थागत संरचनासहित धेरै राम्रा अभ्यास सुरु भएको सरोकारवालले बताएका छन ।
विकास निर्माणका काम, सेवा प्रवाह अनि कानुन निर्माणलगायतका क्षेत्रमा जनप्रतिनिधिको भूमिका प्रभावकारी बन्दै गएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास लगायतका सेवा प्रवाहमा पालिकाले महत्वपूर्ण कदम चालेका छन् । आधुनिक प्रविधिको प्रयोग पनि बढ्न थालेको छ । तर कतिपय पालिकामा विकृति र अनियमितता पनि बढ्दै गएका छन् ।
संघीयतामा तीन तहका सरकारमध्ये सबैभन्दा स्थायित्व भएको सरकारका रुपमा पालिका सावित भएका छन् ।