फागुन २१
जेन–जी आन्दोलनको बलमा विघटित प्रतिनिधिसभाको निर्वाचन आज बिहीबार हुँदैछ। निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा भएको भन्दै ढुक्क भएर मतदान गर्न सर्वसाधारणमा आह्वान गरेको छ। यो निर्वाचनले ‘लिक’ बाहिर गएको संवैधानिक र राजनीतिक प्रक्रियालाई ‘लिक’ मा फर्काउने भएकाले राष्ट्रियरअन्तर्राष्ट्रिय क्षेत्रमा निकै चासोका साथ हेरिएको छ। यस चुनाबले नयाँ र पुराना भन्ने राजनीतिक दलको शक्तिको पनि परीक्षण गर्नेछ।
प्रत्यक्ष प्रणालीतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद चुन्न निर्वाचन हुँदै छ । १ करोड ८९ लाख ३ हजार ६ सय ८९ नागरिकलाई मताधिकार छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजे मतदान सुरु हुनेछ । अपराह्न ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरेका मतदाताले मत हाल्न पाउनेछन् ।
प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ र समानुपातिकतर्फ ३ हजार १ सय ३५ उम्मेदवार छन् । प्रत्यक्षतर्फका उम्मेदवारमध्ये ३ हजार १७ पुरुष र ३ सय ८८ महिला छन् । एक उम्मेदवार अन्य लिंगको रहेको आयोगको विवरण छ । प्रत्यक्षतर्फ ६५ राजनीतिक दलबाट २ हजार २ सय ६३ र स्वतन्त्र रूपबाट १ हजार १ सय ४३ जनाले उम्मेदवारी दिएका छन् ।
समानुपातिकतर्फ ६३ दलका १ हजार ३ सय ६३ पुरुष र १ हजार ७ सय ७२ महिला उम्मेदवार छन् । राजनीतिक दललाई प्राप्त हुने भोटका आधारमा समानुपातिक सांसद चयन हुने व्यवस्था छ । दुईवटा निर्वाचन प्रणालीका कारण मतदाताले दुई मतपत्रमा रहेको चिह्नमा स्वस्तिक छाप लगाउनुपर्नेछ ।