प्रहरीले विवेकशील साझा पार्टीका कार्यकर्ताहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय, नक्साल अगाडिबाट नियन्त्रणमा लिएको छ । बढ्दो भ्रष्टाचार तथा बेथितिको छानबिन माग गर्दै आज बुधबार बिहान विवेकशील साझाले अख्तियार अगाडि धर्ना कार्यक्रम राखेको थियो ।
ठूलो माछा कता छन् ? सिंहदरबार जता छन्’ अख्तियारको बल्छी, साना माछा मात्रै पर्ने’ लगायतका नारा लेखिएका प्लेकार्डसहित विवेकशीलका कार्यकर्ताले धर्ना दिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । अख्तियार अगाडि धर्ना तथा नारावाजी गरेर अवरोध गरेपछि प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएकाहरुको संख्याबारे भने खुलाएको छैन प्रदर्शनकारीलाई प्रहरीले गाडीमा हालेर लगेको छ । गिरफ्तार हुनेमा पार्टीकी प्रदेश ३ संयोजक समिक्षा बास्कोटा, केन्द्रीय सदस्य मानवी पौडेल र काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठ पनि छन्। उनीहरूलाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको छ।