काठमाण्डौ / माघ १
शनिबार माघे सङ्क्रान्ति पर्व ,घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाएर मनाइँदैछ ।
यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो। आजको दिन रिडी ,देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी लगायतका ठाउँमा माघ स्नान गर्ने भक्तजनको भिड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । यसवर्ष कोरोनाका कारण मेला महोत्सवमा सरकारले रोक लगाएको छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास रहेको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आजदेखि उत्तरायण सुरु भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।