गुल्मीमा निजी गाडी संचालक अन्दोलित । रातो प्लेट कालो बनाउन सुझाब ।
साउन १६
गुल्मीमा डबल क्याप जीप संचालकहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । उनीहरूले आफ्नो सवारी प्रशासन कार्यालय अगाडि ल्याई हिजो सोमबार दिउँसो कार्यालय घेराउ गरेका हुन् । डबल क्याप जीपमा पाँच सिट पास भएपनि ट्राफिक र प्रहरीले क्षमताअनुसारको यात्रु बोक्न नदिएको भन्दै उनीहरूले विरोध गरेका हुन् ।
तम्घास देखि धुर्कोटसम्म जीप संचालन गर्दै आएका भीम पाण्डेले प्रशासनले आफन्त समेत बोक्न नदिएर आफुहरूमाथि अन्याय गरेको बताए ।
इस्मा गाउँपालिका ४ का दामोदर कुँवरले देशमै केही गरौ भन्ने युवाहरूलाई राज्यले हतोत्साहीत गर्न खोजेको बताए । आफुले आफन्त राखेर तम्घास ल्याउन खोज्दापनि ट्राफिकले जरिवाना काटेको गुनासो गरे । कानुन र व्यवहारिक पक्ष फरक भन्दै कुँवरले प्रशासनले व्यवहारिक पक्ष हेर्नुपर्ने बताए ।
हिजो नै जीप संचालक, ट्राफिक प्रहरी, प्रहरी कार्यालय र प्रशासन कार्यालयबीच छलफल भएको छ । छलफलको क्रममा प्रहरी उपरीक्षक नवीन किशोर प्रधान र पमुख जिल्ला अधिकारी टेक बहादुर केसीले रातो प्लेट भएका सवारीलाई कालो प्लेट बनाउन र त्यसमा प्रशासनको तर्फबाट आवश्यक सहयोग रहने बताएका थिए ।
जीप संचालकहरूले त्यो सम्भव नहुने भएकोले प्रशासनले व्यवहारिक पक्ष नै हेर्नुपर्ने दाबी कायमै राखेका थिए । पशासनले पनि रातो प्लेटका सवारीलाई भाडाका यात्रु बोक्ने अधिकार नभएको भन्दै अटेरी नगर्न आग्रह गरेको छ ।