बैशाख २२
चितवन
जंगली च्याउ पकाएर खाँदा चितवनमा भिन्दाभिन्दै दुई गाउँका दुई परिवारका १२ जना बिरामी भएका छन् । बिरामीमध्ये तीनजनाको अवस्था गम्भीर छ । भरतपुर महानगरपालिका–२९ कविलास जुगेडीका पाँचजना र कालिका नगरपालिका–३ पदमपुरका सातजना व्यक्तिहरु बिरामी भएका हुन् । जुगेडीका एकजना र पदमपुरका दुईजनाको अवस्था गम्भीर रहेको छ ।
भरतपुर महानगरपालिका–२९ का वडाध्यक्ष मनबहादुर मगरका अनुसार शनिबार राति च्याउको तरकारी पकाएर खाएका जुगेडीका पाँचजना आइतबार बिहानै बिरामी हुन थालेपछि भरतपुरको सरकारी अस्पतालमा उपचारका लागि पठाइएको हो । त्यसैगरी कालिका–३ का वडाध्यक्ष टिकाराम रिजालका अनुसार आइतबार जंगलबाट ल्याएको च्याउ पकाएर खाएका एकै परिवारका सातजना बिरामी भएर उपचारका लागि भरतपुर गएका छन् ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एकनारायण कोइरालाका अनुसार जुगेडीका पाँचजनाको भरतपुरको सरकारी अस्पतालमा उपचार भइरहेको छ । पाँचजनामध्ये ५५ वर्षीय बिरबहादुर चेपाङको अवस्था गम्भीर भएका कारण उनको सघन उपचार कक्ष ९आईसीयू०मा उपचार भइरहेको छ । सुमन चेपाङ, सर्मिला चेपाङ, अञ्जना चेपाङ र सिर्जना चेपाङको अवस्था सामान्य रहेको छ ।
पदपुरका बिरामीहरुको भरतपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । सो अस्पतालका चिकित्सक डा।महेन्द्र अग्रहरीका अनुसार सातजनामध्ये दुईजनाको अवस्था अलि गम्भीर र बाँकी पाँचजनाको अवस्था सामान्य छ । अस्पतालका अनुसार पदमपुरका शिव चौधरी, समिक्षा चौधरी, अनिता चौधरी, निरजकुमारी चौधरी, सितादेवि चौधरी, लखन चौधरी र पुजा चौधरी जंगली च्याउ खाएर बिरामी भएका हुन् ।
उपचारमा संलग्न चिकित्सक डा.महेन्द्र अग्रहरीका अनुसार च्याउ विषालु परेमा कलेजोमा असर पर्ने र बिस्तारै अन्यत्र पनि फैलिएर विभिन्न अंगहरुले काम गर्न छाड्दा मान्छेको ज्यानै जाने खतरा हुन्छ । त्यसैले जंगलको च्याउ नखान चिकित्सकहरुले अपिल गरेका छन् । जंगली च्याउ पकाएर खाँदा चितवनमा ६७ सालको जेठमा एकै परिवारका आठजना र त्यसपछि पनि एकै परिवारका पाँचजनाको ज्यान गएको थियो ।