असार १२
जङ्गली विषालु च्याउ खाँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना बिरामी परेका छन्।
मकवानपुरमा जङ्गली विषालु च्याउ खाँदा गत एक हप्तामा तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कैलाश गाउँपालिका नामटार बस्ने विनोद लामाका चार वर्षीय छोरा दिपेश लामा, सोही स्थानकी २५ वर्षीया निरुमाया रुम्बा र राक्सिराङ गाउँपालिका ७ दुगुवाङका ५५ वर्षीय बलबहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ।
असार ३ गते विषालु च्याउ खाएर बिरामी परेका बालक लामा र रुम्बाको चितवनस्थित सिएमसी अस्पतालमा उपचार भइरहेकामा आर्थिक अभावका कारण परिवारले आफू खुसी घर लगेको र उनीहरुको असार ८ गते घरमै मृत्यु भएको प्रहरी जनाएको छ।
यस्तै जङ्गली च्याउ खाएर बिरामी परेका प्रजाको पनि भरतपुर अस्पताल चितवनमा सोही दिन मृत्यु भएको प्रहरीले जनाएको छ। बिरामी परेकामध्ये आठ जना उपचारपछि घर फर्किएको र अन्यको सामान्य अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ग्रामीण क्षेत्रमा बर्खा लागेसँगै जङ्गलमा च्याउ निस्कने गर्दछन्। विषालु च्याउ नचिनी खाँदा मानिसको मृत्युसमेत हुने गरेकाले सतर्क रहन प्रहरीले आग्रह गरेको छ।