असार २९
नेपालमा औसत ५ प्रतिशत किशोर किशोरी १५ वर्ष पुग्नुअघि नै कुलतमा लाग्ने गरेको पाइएको छ । तथ्यांक विभागले गरेको नेपाल बहुसूचक सर्वेक्षणले देखाएअनुसार नेपालमा १५ वर्ष उमेर नपुग्दै किशोर–किशोरीले चुरोट र मदिरा सेवनको लत सिकिसकेका हुन्छन् । विभागले सर्वेक्षणको सारांश आइतबार सार्वजनिक गरेको छ । जसअनुसार ५.५ प्रतिशत पुरुष र २.२ प्रतिशत महिलाले १५ वर्ष नपुग्दै एक पटक चूरोट सेवनको अनुभव लिइसकेको पाइएको छ । ७.९ प्रतिशत पुरुष र ५ प्रतिशत महिलाले १५ वर्ष नपुग्दै मदिरा सेवन गरेको सर्वेक्षणको नतिजाले देखाएको छ । सरकारी तथ्यांक अनुसार नेपालमा १५–४९ वर्ष उमेर समुहका महिला र पुरुषमध्ये ४५.२ प्रतिशतले सर्वेक्षण गरिएको दिन भन्दा एक महिना अगाडिको अवधिमा कुनै न कुनै रुपमा मदिरा सेवन गरेको पाइएको छ ।
विभागले नेपाल बहुसूचक सर्वेक्षण २०७५र७६ का मूख्य सूचकको नतिजा सार्वजनिक गरेको हो । जसअनुसार नेपालमा सानै उमेरबाट मद्यपान र धुमपानमा मानिस फसिरहेको देखिएको छ । विभागका अनुसार यो सर्वेक्षणको कार्यान्वयन छैठौं विश्वव्यापी बहुसूचक सर्वेक्षणको श्रृङ्खलाका रुपमा संयुक्त राष्ट्रसंघीय बाल कोष (यूनिसेफ) नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा सरकारले गरेको हो । सर्वेक्षणका दौरान नेपालभरबाट १२ हजार ८ सय परिवारबाट पारिवारिक विवरण संकलन गरी त्यसलाई विश्लेषण गरिएको विभागले जनाएको छ । यो सर्वेक्षणले परिवारको शिक्षा, पारिवारिक विशेषता, सामाजिक सुरक्षा कार्यक्रम, परिवारले प्रयोग गरेको इन्धन, खानेपानी र सरसफाइ, पानीको गुणस्तरलगायतबारे प्रश्नावली भराइएको थियो । उता, व्यक्तिगत विवरणका दौरान पृष्ठभूमि, सूचना तथा सञ्चार प्रविधिमा पहुँच, सूर्तीजन्य र मदिराजन्य पदार्थको सेवन, घरेलु हिंसालगायत विवरण भरिएको थियो ।