शरिरको तल्लोभाग जलेका ८ वर्षिय किरण दर्लामीको उपचारमा आर्थिक अभाव भएको भन्दै परिवारले सवैलाई सहयोग गरिदिन याचना गरेको छ। बागलुङको बडिगाड गाउँपालिका वडा नं. ४ नैतुल घर भई हाल बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा ज्याला मजदुरी गर्दै वसोवास गर्ने मानसिंह दर्लामीले आफ्नो छोरा वचाइदिन आग्रह गर्नुभएको हो।
हाल पाल्पाको मिसन अस्पतालमा उपचाररत दर्लामीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। अस्पतालमा रहेकी आमा तुल कुमारी दर्लामीले भन्नुभयो – “डाक्टरले सञ्चो हुन्छ त भनेका छन् तर पैसा छैन अस्ती २० हजार धरौटि राख्ने पैसा नभएपछि गाउँलेले उठाएर दिएको पैसाले भर्ना गरेको हो, अव फेरी कती भन्ने हुन्, मेरो छोरो बँचाइदिनुपर्यो”।
यहिँ चैत्र १४ गते साथीहरु संग खेल्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो, आगो सल्किएपछि भाग्ने क्रममा शरिरको भाग जलेको स्थानियले बताएका छन्। शरिरको तल्लोभागको करिव १३ प्रतिशत भाग जलेको र त्यसको पूर्ण सुधार हुन झण्डै डेढ महिना वढि लाग्ने उपचारमा संलग्न चिकित्सकले वताएका छन्।
अहिले मुत्रनलीलाई पाइपको माध्यमबाट सुचारु गरिएको र थप अपरेशनको तयारी भएको अस्पताल श्रोतले जानकारी दिएको छ। आर्थिक अवस्था निकै कमजोर भएकोले आफ्नो कक्षा २ मा पढ्ने विद्यार्थीलाई सहयोग गरिदिन सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक यादुलाल खरेलले आग्रह गर्नुभएको छ।
बालकको अकल्पनिय घटनाले वडा परिवार दुखि छ, उनको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै बडिगाड गाउँपालिकाले तत्काल केहि राहत रकम प्रदान गर्ने निर्णय गरेको वडा नं. ३ का अध्यक्ष खड्क पुनले जानकारी दिनुभएको छ। सहयोग गर्न इच्छुक महानुभाबलाई अनुरोध गरिएको छ । कक्षा २ मा पढ्ने ८ वर्षिय दर्लामी ४ दिदिहरु पछिका कान्छा छोरा हुन्।
दर्लामीको उपचारको लागी पहिलो पटक चाहिने धरौटि सहित यातायात खर्च समेत खर्वाङ, हाँडिखोला क्षेत्रका स्थानियले संकलन गरि पठाएको थिए।