गुल्मीका एक युवा भारतमा मृत फेला परेका छन् । रोजगारीका लागि भारत पुगेका गुल्मीका सजन नेपाली मृत फेला परेका हुन् ।
गुल्मीको ईस्मा गाउँपालिका २, साविक हस्तीचौरको झिरनेटाका ३० वर्षीय नेपालीको चैत्र २२ गते चिराग दिल्लीमा मृत फेला परेका थिए । उनले काम गर्ने घरको तेश्रो तलाबाट खसेर मृत्यु भएको भनिए पनी नेपालीका परिवारले त्यो खबर पत्याउन सकेका छैनन् ।
सँगै काम गर्ने साथीहरुले आफै छतबाट हाम्फालेर आत्महत्या गरेको भएपनी त्यो कुरा झुटो भएको परिवारजनको आरोप छ । नेपाली भुईमा खसेको १५ मिनेटपछि मात्र माथि घरमा रहेका ती साथीहरुलाई अरुले जानकारी दिएको मृतकका बुवा श्यामलाल नेपालीले जानकारी दिए ।
नेपाली परिवारले भने उनको कसैले कुटेर हत्या गरी फालेको आशंका गरेको छ ।
नेपालीको २५ वर्षीया श्रीमतीका साथै ६ बर्ष र ३ महिनाका एक सन्तान रहेका छन्। मृतक नेपाली १८(१९ बर्षदेखि भारतमै मजदुरी गर्दै आएका थिए ।
मृतक नेपाली ६ महिना पहिले मात्रै नेपाल छुट्टी आएर फर्केका थिए ।