३१ जेठ , सन्धिखर्क-
सन्धिखर्क नगरपालिका उप–प्रमुख ठाकुर कुमार बि.क किशोरले किसानहरुलाई व्यवसायीक उत्पादन मुखी बन्नुपर्नेमा जोड दिनुभएको छ । निर्वाह मुखी उत्पादनले नगरपालिकाको मागलाई धान्न कठिन हुने भन्दै उप–प्रमुख बि.कले समय सुहाउदो उत्पादनमा लाग्न किसानहरुलाई आग्रह गर्नुभएको हो ।
सन्धिखर्क नगरपालिका ११ नम्बर वडा डिभर्नाले आयोजना गरेको कृषि सामग्री हस्तान्तरण कार्यक्रममा उहाँले नगरपालिकामा आवश्यक उपभोग्य वस्तुहरु नगरभित्रनै उत्पादन गर्न सके दीगो विकासको लक्ष्य हासिल हुने पनि बताउनुभएको हो ।
कार्यक्रममा वडाध्यक्ष धुर्वराज आचार्यले ११ नम्बर वडाका कामलाई सर्बोत्कृष्ट बनाउने गरी योजना निर्माण गरिएको बताउनुभयो । आचार्यले वडा कार्यालयले किसानहरुलाई उत्साह दिन मौरीका आधुनिक घार, टनेल तथा बोयर बोका बितरण गरिएको भन्दै कम लगानीमा बढि उत्पादनमा हुने खालको क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपाका नेता माधव खनाल, नेपाली कांग्रेसका नेता खडानन्द आचार्य लगायतले बोल्दै वडा कार्यालयले गरेको उल्लेखनीय कामको प्रसंसा गर्नुभएको थियो ।
वडा कार्यालयले किसानहरुलाई ७० वटा मौरीका आधुनिक घार, ४० वटा प्लाष्टिक टनेल र ६ वटा बोयर जातका बोका हस्तान्तरण गरेको छ । कार्यक्रम वडाध्यक्ष धुर्वराज आचार्यको अध्यक्षता, वडा सचिव पुस्करनाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।