बुटवल,
साउन ५ –
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुद्ध मूर्ति तोडफोडमा संलग्नहरुलाई छिटो पक्राउ गरी कारबाही गर्न निर्देशन दिनुभएको छ ।
रुपन्देहीको तिलोत्तमाको सडकमा राखिएका ५ वटा बुद्ध मूर्ति तोडफोडमा संलग्नहरुलाई छिटो पक्राउ गरी कारबाही गर्न मुख्यमन्त्री पोखरेलले निर्देशन दिनुभएको हो ।
पोखरेलले जिल्लाका सुरक्षा प्रमुखलाई बोलाएर बुद्ध मूर्ति तोडफोडबारे चासो व्यक्त गर्नुभएको हो ।
यो पनि पढ्नुहोस
रुपन्देहीमा बुद्धका मूर्ति तोडफोड
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक तथा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी उपरिक्षकलाई
मुख्यमन्त्री निवासमा बोलाएर घटनामा संलग्नहरुलाई तत्काल पक्रेर कारबाही गर्न निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।
सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सडकमा राखिएका बुद्धका मूर्तिमा साउन १ गते राति तोडफोड भएको थियो ।
तिलोत्तमा नगरपालिकाले आफनो क्षेत्रमा पर्ने ६ लेनको सडकमा २२ वटा मूर्ति स्थापना गरेको थियो । एउटा मूर्तिको तौल १ सय १० किलो रहेको छ ।
त्यो सडक भएर यात्रा गर्ने देशी विदेशी पर्यटकहरुलाई लुम्बिनीको झल्को दिलाउन सडक क्षेत्रमा बुद्धका मूर्ति राखिएको नगरपालिकाले बताएको छ ।
यो सडकखण्डको बगैँचा क्षेत्रमा नगरपालिकाले २२ वटा बुद्धमूर्ति राखेको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनीको झल्को दिनका लागि नगरपालिकाले गत आर्थिक वर्षमा २२ वटा सुनौला रंगका मूर्ति राखेको थियो।
मूर्ति तोडफोडमा संलग्नको पहिचान हुन सकेको छैन।