नेविसंघले सर्वसुलभ र गुणस्तरीय शिक्षाका लागि पहलको प्रतिबद्धतासहित स्ववियु निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । नेविसंघ बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी व्यावहारिक शैक्षिक क्यालेन्डर बनाएर लागू गर्नेसहितका योजना समेटेर घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रमा अनिवार्य निःशुल्क स्वास्थ्य बिमा गराउनदेखि विद्यार्थीलाई प्रविधिमैत्री हेल्थ कार्ड उपलब्ध गराउने संकल्प गरेको छ । नेविसंघले व्यावहारिक शैक्षिक क्यालेन्डरसमेत निर्माण गर्ने घोषणा गर्दै त्यसको खाका प्रस्तुत गरेको छ । माध्यमिक शिक्षासम्म अनिवार्य र निःशुल्क बनाउने र उच्च शिक्षा सबैको पहुँचमा, गुणस्तरीय र सर्वसुलभ हुँदै क्रमशः निःशुल्क बनाउने अठोट लिएको छ ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थीको आन्दोलनमार्फत देशको व्यवस्था परिवर्तन भए पनि विश्वविद्यालयको अवस्था परिवर्तन हुन नसकेको बताए । घोषणापत्रमा ७७ वटै जिल्लामा कम्तीमा एक आंगिक क्याम्पस स्थापना गर्न पहल गर्ने, सर्वसुलभ र गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि सामुदायिक क्याम्पसको संख्या बढाउन पहल गर्ने, अपांगमैत्री शिक्षालय, छात्रावृत्तिको न्यायोचित वितरण, स्वच्छ पर्यावरण र सुन्दर वातावरण, स्वदेशमै शिक्षालगायत विषय घोषणापत्रमा समावेश गरेको छ ।