माघ २९
प्रधानमन्त्री तथा माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले कांग्रेससँगको गठबन्धन लाभदायक नभएन पनि सरकारले राम्रो काम गरेको प्रचण्डको दाबी गरेका छन ।
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन।
पार्टीले सञ्चालन गरेको चार महिने अभियानका सम्बन्धमा प्रदेश इन्चार्जहरूले पेश गरेको रिपोर्टमाथि आजको बैठकमा आफ्नो धारणा राख्दै प्रचण्डले अभियान सफल भएको बताए । यस्तै उनले आगामी दिनमा पनि यस्ता खालका अभियानलाई निरन्तरता दिने जानकारी गराए ।
सम्बोधनका क्रममा प्रचण्डले कोशीमा कांग्रेसबाट भएको अन्तर्घातका साथै विभिन्न घटनाक्रहरु हेर्दा गठबन्धन लाभदायक बन्न नसकेको बताएका हुन् ।
‘कांग्रेससँगको हाम्रो सहकार्य राजनीतिक दृष्टिकोणले त एउटा आवश्यकता हो । तर, हाम्रो पार्टीको समग्र विकासको दृष्टिकोणले त्यो लाभदायक भएको देखिएन’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
यद्यपि उनले अर्को गठबन्धन बनाउने आधार भने तय भइनसकेको बैठकलाई बताएका थिए । अहिले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन पर्ने अवस्थासहित विभिन्न परिस्थितिले नयाँ गठबन्धन बनाउने अवस्थामा नपुगेको उनको भनाइ थियो । तर, यसबारे गम्भीर समीक्षा गर्नुपर्ने उनको धारणा थियो ।
प्रचण्डले कांग्रेसलाई आफूहरूकै मतको आधारमा पहिलो पार्टी बनाइएको समेत धारणा राखेका थिए । ‘हामीले चाहिँ इमानदारितापूर्वक कांग्रेसलाई पहिलो पार्टी बनायौँ । तर हामीलाई पटक पटक धक्का मिलेको छ’, प्रचण्डले भने । राजकीय पद भागबन्डामा पनि पार्टीलाई घाटा भएको उनको भनाइ थियो ।
अबका दिनमा गठबन्धन भन्दा पनि आफ्नै धरातलमा चुनाव लड्ने गरी पार्टीले अभियान सञ्चालन गर्नुपर्ने समेत प्रचण्डले बताएको स्रोतको दाबी छ ।
सुशासन र सामाजिक न्यायको पक्षमा सरकारले काम गरेको बैठकमा बताएको नेताहरुको भनाइ छ । अन्तर्राष्ट्रिय फोरममा पनि वर्तमान सरकार संसारले देख्ने गरी प्रस्तुत भएको प्रचण्डको दाबी थियो । ‘आशा र अपेक्षा माओवादी पार्टीप्रति महसुस भएको छ’, प्रचण्डको भनाइ थियो ।
यस्तै भ्रष्टाचारको निर्मूल नभएसम्म समाजवादको बाटो तय नहुने पनि प्रचण्डको भनाइ थियो । नक्कली भुटानी शरणार्थी प्रकरणदेखि भूमाफिया र तस्करीका विरुद्धसम्म सरकार गम्भीर भएर लागिपरेको र निरन्तर लागिपर्ने पनि उनले बताए ।